काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारी कर्मचारीहरूको तलब तथा सुविधामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै मासिक १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने घोषणा गरेका हुन् । हाल कायम रहेको महँगी भत्ता यथावत राखिने भएकाले समग्रमा कर्मचारीहरूको तलब सुविधा करिब २१ प्रतिशतले वृद्धि हुने भएको छ ।
सरकारको नयाँ व्यवस्थासँगै अब सरकारी कर्मचारीहरूको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँ पुग्ने भएको छ भने उच्च तहका कर्मचारीहरूको तलब एक लाख रुपैयाँभन्दा बढी हुने बताइएको छ ।
सरकारले कर्मचारीहरूको मनोबल उच्च बनाउने, बढ्दो महँगीको असर न्यूनीकरण गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र भ्रष्टाचारमुक्त बनाउने उद्देश्यले तलब वृद्धि गरिएको जनाएको छ ।
लामो समयदेखि तलब समायोजनको अपेक्षामा रहेका सरकारी कर्मचारीहरूका लागि बजेटको यो घोषणा राहतपूर्ण र उत्साहजनक मानिएको छ ।


