वीरगञ्ज, नेपाल पत्रकार महासंघ पर्सा शाखाले आफ्नो कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कार्य संस्थाको गरिमा र पत्रकारिताको साझा प्रतिष्ठामाथिको प्रहार भएको जनाएको छ।

शाखाका सचिव विजयकुमार महतोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सदस्यता शुद्धीकरणको विषयलाई लिएर गठन गरिएको भनिएको ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको अवस्थामा केही व्यक्तिले तालाबन्दी गरेका हुन्। उक्त गतिविधिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै महासंघले यसबाट पर्साको पत्रकारिता क्षेत्रको एकता, विश्वास र साखमा नकारात्मक असर पुगेको जनाएको छ।

महासंघले सदस्यता शुद्धीकरणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्दै सो प्रक्रिया संस्थाको विधि, विधान तथा विगतका निर्णयअनुसार अघि बढ्ने जनाएको छ। विज्ञप्तिमा शाखा नेतृत्वले तत्कालीन अध्यक्ष अनुप तिवारीलाई २०८३ जेठ ७ गते औपचारिक पत्र पठाएर निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक विवरण तीन दिनभित्र बुझाउन आग्रह गरेको उल्लेख गरिएको छ। तर आवश्यक कागजात हस्तान्तरण गरी प्रक्रिया सहज बनाउनुपर्नेमा उल्टै कार्यालयमा तालाबन्दी गरिएको भन्दै शाखाले असन्तुष्टि जनाएको छ।

पर्सा शाखाले हाल कायम रहेका सदस्यता निवर्तमान नेतृत्वकै कार्यकालमा स्वीकृत भएको र तिनै सदस्यहरूको मताधिकारबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पनि निर्णय पुस्तिका, आर्थिक विवरण तथा अन्य अभिलेख हस्तान्तरण नगरिनु चिन्ताजनक रहेको बताएको छ।
विज्ञप्तिमा पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिनु, पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिनु, पहिलो बैठकले गरेको ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय कार्यान्वयन नभएको तथा साधारणसभाको तयारी प्रभावित पार्ने गतिविधिहरू भइरहेको उल्लेख गरिएको छ। यसले संस्थालाई अन्योल र असहज परिस्थितिमा धकेल्ने प्रयास भइरहेको शाखाको आरोप छ।
महासंघ पर्सा शाखाले निर्णय पुस्तिकासहित सम्पूर्ण हरहिसाब तत्काल बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा कार्यालयमा लगाइएको तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
साथै, शाखाले संवाद, सहकार्य र संस्थागत हितप्रति आफू सदैव प्रतिबद्ध रहेको जनाउँदै संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा तथा कानुनी अधिकारमाथि निरन्तर हस्तक्षेप भए आवश्यक कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।


