काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

बिहीबार दिउँसो राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले शरीरमा आगो लगाएपछि घटनास्थलमा रहेका सुरक्षाकर्मी र स्थानीयले तत्काल उद्धार गरेका थिए। घाइते पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घाइते व्यक्तिको नाम, ठेगाना तथा परिचय हालसम्म खुल्न सकेको छैन। उनको स्वास्थ्य अवस्था र आत्मदाहको प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
व्यस्त सार्वजनिक स्थलमा भएको घटनापछि राहदानी विभाग परिसरमा केही समय अफरातफरी र तनावको अवस्था सिर्जना भएको थियो। प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको र अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने जनाएको छ।


