काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार साँझ ७ बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि सहभागी हुनेछन्।
महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा कूटनीतिक समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार र स्वकीय सचिव सुवास शर्मासहितको टोली यसअघि नै न्यूयोर्क पुगिसकेको छ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भदौ २३ गतेदेखि सुरु भएको ८१औँ महासभाको उच्चस्तरीय बहस असोज ६ गतेदेखि सुरु हुँदैछ। प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कार्यभार सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। यसअघि पदबहालीको एक वर्षसम्म विदेश भ्रमण नगर्ने सोचमा रहेका शाह रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि उत्पन्न मानवीय तथा भौतिक क्षतिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन अमेरिका जान लागेको बताइएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी भए पनि बाढीपहिरोपछि सिर्जित जलवायु संकट र नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुने निर्णय गरिएको हो।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री शिशिर खनाल भने न्यूयोर्कमै रहेर विभिन्न देशका समकक्षी तथा प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता र कूटनीतिक छलफलमा सहभागी हुनेछन्।


