वीरगञ्ज । संविधान दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र प्याब्सन वीरगञ्जले विद्यार्थी लक्षित नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएका छन्।

विद्यार्थीहरूमा सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नुका साथै आत्मविश्वास, तार्किक सोच, नेतृत्व क्षमता र नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि ‘संविधान संरक्षणमा युवाको भूमिका’ विषय तय गरिएको छ। उक्त विषयमार्फत युवा पुस्तालाई संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय जिम्मेवारीप्रति सचेत तथा उत्तरदायी बनाउन खोजिएको आयोजकको भनाइ छ।
प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध सदस्य विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। विद्यालयहरूलाई आफ्ना विद्यार्थीको उत्साहजनक सहभागिता गराउन आयोजकले आग्रह गरेको छ।प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनशीलता, विचार अभिव्यक्ति, तार्किक प्रस्तुति र नेतृत्व क्षमताको विकाससँगै संविधानप्रति सकारात्मक धारणा निर्माण गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।


