वीरगञ्ज । नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि मेयर सिंह अब महानगरपालिकाको मेयर पदको पुनः पदभार ग्रहण भएको छ ।

अर्कै व्यक्तिकी छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर झूटा विवरण तथा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंहसहित सबै प्रतिवादीलाई सफाइ दिएको हो।
अख्तियारले सिंहकी छोरी बनेर नागरिकता लिएको आरोपमा सिन्धुपाल्चोककी रिता भट्टराईलाई समेत प्रतिवादी बनाएको थियो। यस्तै, वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि प्रतिवादी बनाइएको थियो।
अख्तियारका अनुसार झूटा विवरण तथा कागजातका आधारमा नागरिकता दिलाउने प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप लगाइएको थियो। सोही आरोपका आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
विशेष अदालतको फैसलासँगै मेयर सिंहले सफाइ पाएका छन्। फैसलापछि उनका समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले अदालतको फैसलालाई स्वागत गर्दै सिंहको पुनःबहाली भएको भन्दै खुसी व्यक्त गरेका छन्।


