Lucky-Khabar_

पर्साको धोबिनीमा चोरी भएको घरमा महिला मृत फेला

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा चोरी भएको घरभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्।

content ad p2

स्थानीय श्रीनिवास साह तुराहाकी ५५ वर्षीया श्रीमती लखराव देवी साह तुराहा सोमबार बिहान घरको दोस्रो तल्लामा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति श्रीनिवास तीनतल्ले पक्की घरको पहिलो तल्लामा र उनकी श्रीमती दोस्रो तल्लाको छुट्टाछुट्टै कोठामा सुतेका थिए। रातिको समयमा अज्ञात समूहले दोस्रो तल्लाको झ्याल तोडेर घरभित्र प्रवेश गरी दराज फोडेर गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।सोमबार बिहान नियमित पूजाका लागि श्रीमती नआएपछि श्रीनिवास दोस्रो तल्लामा पुगेका थिए। त्यहाँ उनले लखराव देवीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले महिला मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए।

उनका अनुसार घरको झ्याल र दराज तोडिएको तथा गरगहना चोरी भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि चोरी भएको सामानको विस्तृत विवरण खुल्न बाँकी छ।मृत्युको कारणसमेत यकिन भइसकेको छैन। डीएसपी मल्लका अनुसार मृतकको टाउकोको पछाडिपट्टि बायाँ भागमा सामान्य चोट देखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।

छिमेकीका अनुसार घरबाट लाखौँ रुपैयाँ मूल्य बराबरका गरगहना चोरी भएको हुनसक्ने बताइएको छ। घटनाबारे प्रहरीले चोरी तथा महिलाको मृत्युको विषयलाई जोडेर थप अनुसन्धान अघि बढाएको छ।मृतक लखराव देवीका दुई छोरा र दुई छोरी छन्। उनका छोराहरू व्यवसायको सिलसिलामा काठमाडौंमा बस्दै आएका छन्।

सम्बन्धित खबर

‘Police Baton २०८३’ अन्तर्गत वीरगञ्ज प्रदेश प्रहरी कार्यालयको अनुगमन

लक्की खबर

रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग भेटघाट गर्दै मा. रहबर अन्सारी

लक्की खबर

त्रिपुरेश्वर बस आगलागीमा विवाददेखि आगलागीसम्म के के भयो त !

लक्की खबर