वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘मधेस राज्य’ निर्माणका लागि पुनः आन्दोलन गर्न मधेसी जनतालाई तयार रहन आह्वान गरेका छन्।

शनिबार वीरगञ्जमा आयोजित नौ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिलेको मधेस प्रदेशमा मधेसी समुदायको शासन र प्रशासनमा पर्याप्त पहुँच स्थापित हुन नसकेको दाबी गर्दै पुनः संघर्षको आवश्यकता औँल्याएका हुन्।यादवले आठ जिल्लामा सीमित वर्तमान मधेस प्रदेश आफूहरूले खोजेको प्रदेश नभएको बताए। शासन र प्रशासनमा मधेसी समुदायको पर्याप्त सहभागिता नभएसम्म संघीयताको उद्देश्य पूरा नहुने उनको भनाइ थियो।

‘अहिले भएको जस्तो मधेस प्रदेश हामीले खोजेकै होइन। किनकि मधेस प्रदेश भए पनि यो प्रदेशमा शासन र प्रशासन दुवै मधेसबाहिरका मानिसहरूको कब्जामा छ,’ यादवले भने, ‘हामीले शासन र प्रशासनमा मधेसी नै हुनुपर्ने प्रदेश खोजेका थियौँ। प्रदेशको पुलिस, न्यायालय, कर्मचारी सबै मधेसमै जन्मेको मधेसी हुनुपर्छ।’
संघीयताको वास्तविक अर्थ प्रदेशमा आफ्नै शासन र प्रशासन तथा केन्द्रमा हिस्सेदारी सुनिश्चित गर्नु रहेको उनको तर्क थियो। त्यसका लागि मधेसी जनताले पुनः संघर्ष गर्नुपर्ने समय आएको उनले बताए।‘मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एकपटक लड्ने बेला भइसकेको छ। त्यसका लागि सबै जना तयार रहनु होला,’ यादवले भने, ‘अधिकार कसैले किस्तीमा सजाएर दिँदैन, अधिकार लडेरै लिनुपर्छ।’

यादवले मुलुकको वर्तमान संकट र दुर्दशाका लागि नेपाली कांग्रेस तथा कम्युनिस्ट पार्टीहरू जिम्मेवार रहेको आरोप लगाए। कांग्रेस र कम्युनिस्टले विगतमा मिलेर सत्ता सञ्चालन गर्दै देशलाई लुटेको उनको दाबी थियो।
कांग्रेस र कम्युनिस्टले मधेसी समुदायलाई समान नागरिकका रूपमा व्यवहार नगरेको तथा संघीयतालाई संस्थागत गर्न नचाहेको आरोपसमेत उनले लगाए। मधेस आन्दोलनकै कारण कांग्रेस र एमाले संघीय गणतन्त्र स्वीकार गर्न बाध्य भएको यादवको दाबी थियो।
यादवले कांग्रेसका केही नेताहरूले अहिले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा अभियान चलाइरहेको दाबी गर्दै आफूलाई असली कम्युनिस्ट भन्ने राजनीतिक शक्ति नेपालमा नरहेको टिप्पणी गरे।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै यादवले संघीयताका विषयमा उक्त पार्टी र त्यसका नेताहरूको धारणा दोहोरो रहेको आरोप लगाए।
‘घण्टी छापका नेताहरूले मधेसको भोट लिनका लागि जनकपुरमा संघीयता बलियो बनाउनुपर्छ भनेर भाषण गरे। तर त्यही नेताहरू चितवनमा पुगेर प्रदेश खारेज हुनुपर्छ भनेर भाषण गरे,’ उनले भने, ‘त्यसकारण संघीयताबारे घण्टी पार्टी र त्यसका नेताहरूको द्वैध नीति र चरित्र छ।’
कार्यक्रममा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार कमजोर र लाचार बनेको टिप्पणी गरे।
सरकार विपक्षीका कारण नभई रास्वपाभित्रैबाट भएको असहयोगका कारण कमजोर देखिएको साहको दाबी थियो। उनले सुनसरीको देवानगञ्जमा भएको धार्मिक तनावदेखि रसुवाको भोटेकोसी बाढीबाट उत्पन्न विपत्तिसम्मका घटनामा रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाइपास गरेर गतिविधि गरेको आरोप लगाए।

विदेश सम्बन्ध र कूटनीतिक अभ्यासका विषयमा समेत रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाह फरक दिशामा उभिएको साहको दाबी थियो।लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परेको भन्दै नागरिकस्तरबाट गुनासो आउन थालेको उनले टिप्पणी गरे।
कार्यक्रमलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, प्रगतिशील लोकतान्त्रिक मोर्चाका नेता जनार्दन शर्मा लगायतले पनि सम्बोधन गरेका थिए।नौ दलीय अग्रगामी मोर्चाले मधेसमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आफ्ना राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्याउने उद्देश्यले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको जनाएको छ।


