बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित मेनरोडमा रहेको एक होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार घटनामा संलग्न व्यक्ति फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार होटलमा खाजा खान आएका दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि होटलको भान्सामा रहेको चक्कु प्रहार गर्दा खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


