काठमाडौं । हरितालिका तीज पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका भोलि बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ।

तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिला तथा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले पशुपति क्षेत्र विकास कोषले सहज दर्शन तथा पूजाआजाका लागि विशेष व्यवस्थापन गरेको जनाएको छ।
कोषका अनुसार मन्दिर बाहिर पाँच वटा र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठ वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। दर्शनार्थीको भीड व्यवस्थापन तथा महिला भक्तजनको सुरक्षा र सहजताका लागि बढीभन्दा बढी महिला सुरक्षाकर्मी परिचालन गर्न सरकारसँग अनुरोध गरिएको छ।
यसैगरी, तीज पर्वका क्रममा यातायात तथा पार्किङ व्यवस्थापनलाई समेत व्यवस्थित बनाउने तयारी गरिएको छ। विशिष्ट व्यक्तिका सवारी साधनका लागि कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था गरिएको छ।सर्वसाधारणका सवारी साधनका लागि भने भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड क्षेत्रमा छुट्टाछुट्टै पार्किङ स्थल तोकिएको कोषले जनाएको छ।
तीजका दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको अत्यधिक चाप हुने भएकाले कोषले व्रतालु तथा भक्तजनलाई तोकिएको लाइन र पार्किङस्थलको प्रयोग गरी व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।


