वीरगञ्ज । महिलाहरूको सीप विकास, आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्जमा तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम सुरु गरिएको छ।

नेपाल ट्रेड युनियन पर्साको आयोजनामा सञ्चालन हुने तालिमको वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख आलमले सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बन्न, आफ्नै व्यवसाय सञ्चालन गर्न र आयआर्जन गर्न सहयोग पुग्ने बताए। उनले तालिमले महिलाको दक्षता अभिवृद्धि गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। साथै, उनले आगामी दीपावली तथा छठ पर्वको शुभकामना पनि व्यक्त गरे।

तालिममा ३० जना महिला सहभागी छन्। त्यसमध्ये १५ जनाले मजिद मियाबाट सिलाई कटाई र १५ जनाले राधा हमालबाट ब्युटिसियन तालिम लिनेछन्।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका–२ का वडाध्यक्ष महमद रेयाज मिया, नेपाल ट्रेड युनियन मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कुर्मी र नेपाली कांग्रेस श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशी सहभागी थिए।
त्यसैगरी वडा सदस्यहरू बसिर मिया, चन्द्रनारायण सिंह रिजाल, पुन्देवप्रसाद यादव, उर्मिला थापालगायत स्थानीयको उपस्थिति थियो।नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलालप्रसाद साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


