Lucky-Khabar_

देउवा पक्षले २६ जिल्लामा सक्यो कांग्रेसको जिल्ला अधिवेशन, चार जिल्लामा प्रक्रिया जारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। थप चार जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको छ।

content ad p2

आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा पक्षले कात्तिक १७ गतेसम्म २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।

सम्पन्न अधिवेशनबाट संखुवासभामा रामकुमार जिमी, डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट, दाङमा गोपालराज शर्मा र कालिकोटमा नगेन्द्र विष्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

त्यसैगरी डोटीमा बाजीसिंह खड्का, बझाङमा हर्कजंगबहादुर सिंह, बैतडीमा वीरबहादुर विष्ट, रोल्पामा मानबहादुर खत्री, भोजपुरमा धर्मराज राई, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी र सल्यानमा दीपक चन्द चयन भएका छन्।

धनुषामा कोमलकान्त झा, चितवनमा मिलनबाबु श्रेष्ठ, प्युठानमा देवेन्द्र बर्मा, कपिलवस्तुमा राजेश सिंह, पर्वतमा यमबहादुर मल्ल, म्याग्दीमा हिराबहादुर पुन, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, कास्कीमा ऋषिराम काफ्ले र सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत जिल्ला सभापति बनेका छन्।

कांग्रेस नेता डा. काशशरण महतका अनुसार देउवा पक्षले हालसम्म देशभरका ६१८ स्थानीय तह, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको छ।

प्रदेशगत रूपमा जिल्ला अधिवेशन सम्पन्न हुनेमा कर्णाली सात जिल्लासहित अगाडि छ। कोसी, लुम्बिनी र सुदूरपश्चिमका चार–चार, गण्डकीका तीन तथा बागमती र मधेशका दुई–दुई जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

देउवा पक्षले असोज १५ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गरेको थियो। कात्तिक १५ गतेभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयसीमा सकिँदा चार जिल्ला अझै बाँकी छन्।

मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी भइरहेका बेला बाँकी जिल्ला तथा तल्लो तहका अधिवेशन समयमै सम्पन्न गर्नु देउवा पक्षका लागि चुनौती बनेको छ।

सम्बन्धित खबर

पर्सा प्रहरीले हकदाबी नपरेपछि २२ लाखका दुई भारतीय गाडी भन्सारमा बुझाइयो

लक्की खबर

मिक्स मार्शल आर्टको मधेश प्रदेश अध्यक्षमा सन्तोष पटेल नियुक्त

लक्की खबर

सात महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामान बरामद, ४२१ पक्राउ

लक्की खबर