वीरगञ्ज । मधेश प्रदेशका जिल्लाहरूमा शिक्षाको अवस्था खस्कँदै गएकोमा विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले शुक्रबार आयोजना गरेको “विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय” विषयक अन्तरक्रियामा उनीहरूले यो विषयमा आफ्नो धारणा राखे।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले प्रदेशको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताए।
उनले भने कि मधेश प्रदेशमा ४० प्रतिशत भन्दा धेरै बालबालिका अझै विद्यालय बाहिर रहनु गम्भीर चिन्ताको विषय हो। मन्त्री लेखीले सबैले मिलेर विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने र टिकाउने काम गर्नुपर्ने आवश्यकतामा जोड दिए।
त्यसैगरी, शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा देवी थापाले कुनै बेला मधेश प्रदेश देशभर शिक्षाको दृष्टिकोणले अग्रणी भए पनि अहिले पछाडि पर्नु गम्भीर चिन्ताको विषय भएको बताइन्। उनले माध्यमिक शिक्षा सुधारका लागि प्रदेशलाई मातहत ल्याउन आवश्यक रहेकोमा जोड दिइन्।
कार्यक्रमले शिक्षाको सुधारका लागि विभिन्न उपायहरूबारे छलफल गरियो, जसमा सबैको सक्रिय सहभागिताको आवश्यकता औँल्याइयो।


