९ कात्तिक,काठमाडौं । नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको सञ्चालक एवं सेयरधनी ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार रहेका ४८ वर्षीय राम बहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलिले खनाललाई कात्तिक ९ गते काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन्।

‘कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको, सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न’ रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
खनाल तनहुँको भानु नगरपालिका–८, बगालेफाँटका स्थायी बासिन्दा हुन्।



