१० मंसिर,बिरगंज | जनमताका केन्द्रीय सचिव तथा पर्सा जिल्ला सह-इन्चार्ज र जिल्ला सचिव लगायत नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।


वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह-इन्चार्ज मुकेश द्विवेदी र जिल्ला सचिव शशी पाण्डेसहितका नेताहरूले जसपामा प्रवेश गरेका हुन्। उनीहरूलाई नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गरे।
नवप्रवेशीहरूमा वीरगञ्ज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगञ्ज महानगरपालिका-१ का एकाइ सभापति चन्दन साह कानु पनि रहेका छन्।

जसपाको केन्द्रीय उपमहासचिव समेत रहेका मन्त्री यादवले जनताको भावनालाई सम्बोधन गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न नवप्रवेशीहरूको सक्रियता अपेक्षित रहेको पनि बताए। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवप्रवेशी नेताहरूको आगमनले पार्टीलाई थप बलियो बनाएको बताए। ‘जनताको समस्यालाई सम्बोधन गर्न र विकासको कार्यसूचीलाई तीव्र बनाउन तपाईँहरूको अनुभव र सक्रियता उपयोगी हुनेछ,’यादवले भने।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी र युवा नेता तबारेज अहमदले नवप्रवेशीहरूलाई स्वागत गर्दै, जसपाको संगठनात्मक विस्तारमा उनीहरूको योगदानले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। नवप्रवेश द्विवेदीले जनमत पार्टीभित्रको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफूले पार्टी परित्याग गरेको बताए। ‘जनमत पार्टीभित्र अध्यक्ष सिके राउतको एकलौटीपन र तानाशाही प्रवृत्तिले हामी निराश भयौं। हाम्रो उद्देश्य जनताको भावना प्रतिनिधित्व गर्नु हो, जसका लागि जसपा उपयुक्त माध्यम हो,’ द्विवेदीले भने।
पर्सा जिल्लाको समृद्धि र जनताको हकहितका लागि हामीले यो निर्णय लिएका हौं। पर्सा जिल्लामा जसपाको गतिविधिलाई व्यापक बनाउन र जनतासँग प्रत्यक्ष रूपमा जोडिन नवप्रवेशीहरूको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। मन्त्री प्रदीप यादवको नेतृत्वमा जसपाले जनताको भरोसा जित्ने अभियानलाई अझै बलियो बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ जिल्ला सचिव शशी पाण्डेले भने ।


