राम आर्य
७ जेठ, बारा । बारा जिल्लामा सडक दुर्घटनाको न्यूनिकरण तथा सडक सुरक्षामा सर्वसाधारणको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले “सडक सुरक्षा सप्ताह २०८२” सुरु गरिएको छ।

उद्घाटन कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको संयुक्त आयोजनामा सम्पन्न भएको हो।सो कार्यक्रम आज ७ गते देखि सुरु भई जेठ १३ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, ट्राफिक प्रहरी, विद्यालयका विद्यार्थीहरू तथा नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथिहरूले सडकमा हिँड्दा वा सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरूबारे जानकारी दिनुका साथै ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
सुरक्षा सप्ताहअन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम, विद्यार्थी र चालकहरूका लागि सचेतना कक्षा, ट्राफिक नियम सम्वन्धी पोस्टर तथा पम्प्लेट वितरण, सडकमा यात्रारत सवारी चालक र पैदल यात्रीहरूसँग प्रत्यक्ष संवाद, हेल्मेट तथा सिट बेल्टको प्रयोगको निगरानी लगायतका गतिविधि सञ्चालन गरिने कार्यक्रम संयोजकले जानकारी दिएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र जितपुरसिमरा उपमहानगरपालिकाले सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्नु आफैमा गम्भीर चुनौती भएको भन्दै सबैको सहभागितामा मात्रै सडक सुरक्षा सुनिश्चित गर्न सकिने स्पष्ट पारेका छन्।सडक सुरक्षा सप्ताहले नागरिकहरूमा ट्राफिक नियमप्रति अनुशासन र जिम्मेवारीको भावना विकास गर्न टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।



