राम आर्य
१२ साउन,जनकपुरधाम । कार्यसम्पादन सम्झौता मूल्यांकनमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशमै सर्वोत्कृष्ट हुन सफल भएका छन्।

उक्त कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको हो । यो सफलताको श्रेय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वदायी भूमिकालाई दिइएको छ, जसले आफू हाजिर भएदेखि नै विभिन्न अभियान चलाएर पर्सामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले सो जानकारी गराएका हुन्।

प्रहरी उपरीक्षक गौतम मिश्रको कमान्डमा पर्सा प्रहरीले ४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेको छ। यो अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ।

विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। यसबाट फैसला कार्यान्वयनतर्फ ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९ सय ५६ रुपैयाँ जरिवाना असुल उपर भएको छ।लागुऔषध नियन्त्रणमा पनि पर्सा प्रहरीले कीर्तिमानी काम गरेको छ। ठूलो परिमाणमा ३१९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ परेका छन् भने कुल ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम लगायतका विभिन्न लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्।

मानव बेचबिखन विरुद्ध पनि जिल्ला प्रहरी कार्यालयले कडा रूपमा प्रस्तुत भई १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरेको छ। कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धानमा पनि पर्सा प्रहरी अब्बल देखिएको छ।

प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचनालाई व्यवस्थित र सौन्दर्यीकरण गरी प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरेका छन्। धार्मिक सद्भाव कायम राख्न पनि उनको भूमिका प्रशंसनीय छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम जस्ता पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै खलबल आउन नदिई उनले सक्षम कमान्डरको उदाहरण प्रस्तुत गरेका छन्।
२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता र मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक विजेता बन्न सफल भएको हो।


