काठमाडौं | अब बलिउडका चर्चित अभिनेता शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेका छन्।

हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिए अनुसार ५९ वर्षीय अभिनेता खानको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो।
त्यस्तै यसले खानलाई अर्नोल्ड श्वार्जनेगर, गायिका रिहाना, गोल्फर टाइगर वुड्स, र गायिका टेलर स्विफ्ट जस्ता विश्व प्रसिद्ध सेलिब्रिटीहरूको श्रेणीमा राखेको छ। फोर्ब्स पत्रिका अनुसार यी सेलिब्रिटीहरूको सम्पत्ति करिब १.६ अर्ब डलर रहेको बीबीसीले उल्लेख गरेको छ।
सो अर्बपति क्लब सूचीमा बलिउडका अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन, अमिताभ बच्चन र निर्देशक करण जोहर पनि रहेका छन्।

बलिउडको ‘रोमान्स किङ’ भनेर चिनिने शाहरुख खानले तीन दशकभन्दा बढी समयदेखि हिन्दी फिल्म उद्योगमा काम गर्दै आएका छन्। उनी नायकबाहेक एउटा प्रमुख प्रोडक्सन हाउस र क्रिकेट टिमका मालिक पनि हुन्।
भारतमा अर्बपतिहरूको संख्या ३५० नाघेको छ। यो वर्ष हुरुन इन्डियाका अनुसार अर्बपति मुकेश अम्बानी र गौतम अडानी पहिलो र दोस्रो नम्बरमा परेका छन्।



