काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। यस अवसरमा सरकार, सरोकारवाला निकाय, गैरसरकारी संस्था तथा अपाङ्गता अधिकारका क्षेत्रमा सक्रिय संघ–संस्थाले सेमिनार, र्याली, अन्तरक्रिया कार्यक्रमलगायत गतिविधि सञ्चालन गरिरहेका छन्।

सन् १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा संयुक्त राष्ट्रसंघको पहलमा मनाइँदै आएको यस वर्षको दिवस ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ नाराका साथ मनाइएको छ। नाराले सबैका लागि समान अवसर र पहुँचसहितको समावेशी वातावरण निर्माणको आवश्यकता औँल्याउँछ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सम्मानजनक जीवन, समान अधिकार र सार्वजनिक सेवा–सुविधामा पहुँच सुनिश्चित गरेको भए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको सरोकारवालाहरूको भनाइ छ। कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, धार्मिक स्थल तथा सरकारी–निजी संरचनामा आवश्यक भौतिक पहुँचको अभावले अपाङ्गता भएका व्यक्तिहरू दैनिक रूपमा कठिनाइ भोगिरहेका छन्।

लामो समयदेखि उठ्दै आएको ‘समावेशी विकास’ को माग नीतिगत रूपमा प्राथमिकतामा परे पनि सुविधा, पहुँच र अवसर विस्तारका लागि अझै तीव्र र प्रभावकारी कार्यान्वयन आवश्यक छ। दिवसको अवसरमा काठमाडौँदेखि सातै प्रदेशमा अधिकारसम्बन्धी बहस, अपाङ्गता मैत्री पूर्वाधार निर्माणका प्रतिबद्धता आदानप्रदान तथा विभिन्न सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।

सरोकारवालाहरूले तीनै तहका सरकारलाई अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता र अधिकारलाई नीतिगत र कार्यान्वयन तहमा पूर्ण रूपमा समावेश गर्न आग्रह गरेका छन्। दिवसले समावेशी, समान र न्यायसंगत समाज निर्माणप्रति जागरूकता बढाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति पुनः ध्यान केन्द्रित गर्ने अवसर प्रदान गरेको छ।


