वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मतका लागि प्रदेश सभामा उपस्थित हुँदैछन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनले आज बिहान साढे ८ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत मत लिँदैछन्।

गत असोज २९ गते संविधानको धारा १६८(२) अनुसार सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था देखिएपछि कात्तिक २२ गते राजीनामा दिएका थिए। त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
भण्डारीले ‘उपचारका लागि काठमाडौं जाँदैछु’ भन्दै मधेश भवनबाट निस्किए पनि बर्दिबासस्थित एक होटलमा बिहानै सरोज कुमार यादवलाई शपथ दिलाएको घटनाले विवाद चर्किएको थियो। यस्तै विवादका बीच असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मंसिर १५ गते मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको हो।
अंकगणित यथार्थ यस्तो रहेका छन्
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार टिकाउन कम्तीमा ५४ मत चाहिन्छ। तर हाल सत्तापक्षीय एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एक सांसद निलम्बित छन्। नेपाल संघीय समाजवादी र राप्रपाबाट एक–एक सिटको समर्थन भए पनि राप्रपाकी मन्त्री कञ्चन बिच्छाको पार्टी निर्देशन विपरीत सरकारमा सहभागिताका कारण उनको सांसद पद संकटमा परेको छ। राप्रपाले आइतबार नै उनको पद खारेजीका लागि प्रदेश सभामा पत्र पठाइसकेको छ।
यता सात दलको गठबन्धनसँग ७३ सांसद छन्। गठबन्धनभित्र कुनै मतभेद नदेखिएको अवस्थामा कांग्रेसका २२, जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसद एकै ठाउँमा छन्।
यही अंकगणितलाई हेर्दा एमाले नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने सम्भावना न्यून देखिएको छ।



