जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै अब संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएअनुसार बुधबार बसेको प्रदेशसभा बैठकमा यादवले विश्वासको मत नआउने सुनिश्चित भएपछि सदनमै राजीनामा घोषणा गरेका हुन्। उनले सम्बोधन गरिरहेको बेला विपक्षी सात दलका सांसदहरूले बैठक बहिष्कार गर्दै बाहिरिएपछि सत्ता साझेदार दलहरूको मतले मात्र सरकार टिक्ने सम्भावना समाप्त भएको थियो।
गत कात्तिक २३ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई सबैभन्दा ठूलो दलका नेताका रूपमा संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सो नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि मंसिर १५ गते सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।
विश्वासको मत प्राप्त गर्न असफल भएपछि यादवले अन्ततः पद त्यागेका छन्। अब प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नुभएको छ, जसले मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरेको छ।


