Lucky-Khabar_

नारायणी अस्पतालमा स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माको आकस्मिक अनुगमन

वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले सोमबार पर्सास्थित नारायणी अस्पतालको आकस्मिक स्थलगत अनुगमन गर्दै विभिन्न वार्डहरूको सेवा–सुविधा तथा अवस्थाबारे प्रत्यक्ष रुपमा जानकारी लिएकी छन्।

content ad p2

अनुगमनका क्रममा मन्त्री शर्माले आकस्मिक कक्ष, मेडिकल तथा सर्जिकल वार्ड, आईसीयू लगायतका प्रमुख विभागहरूको निरीक्षण गर्दै अस्पतालको समग्र सेवा प्रवाह, संरचनागत अवस्था तथा स्रोतसाधनको उपयोगबारे विस्तृत जानकारी जुटाइन्। उनले अस्पतालका संरचना जीर्ण बन्दै गएको र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग नभएको विषयमा चासो व्यक्त गरिन्।

अनुगमनपछि आयोजित छलफलमा मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहले अस्पतालको वर्तमान सेवा, चुनौती र आवश्यकताबारे विस्तृत ब्रिफिङ दिए।

मन्त्री शर्माले विगतको तुलनामा नारायणी अस्पतालको अवस्था कमजोर बन्दै जानु चिन्ताजनक भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको पुनः स्मरण गराइन्। पर्सा जिल्लाको प्रमुख सरकारी अस्पतालमा पर्याप्त स्रोतसाधन हुँदाहुँदै अपेक्षित सेवा नदेखिनुमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याइन्।

उनले आवश्यक सुधारका लागि संघीय सरकार प्रतिबद्ध रहेको बताउँदै नर्सको संख्या थप गर्ने, अवरुद्ध भवन निर्माणका समस्या समाधान गर्न भवन विभागसँग समन्वय गर्ने तथा नयाँ भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रिया अघि बढाई बजेटमा समावेश गर्ने आश्वासन दिइन्।

त्यस्तै, दरबन्दी भए पनि स्वास्थ्यकर्मी नआउने समस्या समाधानका लागि उपयुक्त कार्य वातावरण निर्माणमा सबै पक्ष एकजुट हुनुपर्नेमा पनि उनले जोड दिइन्।

अनुगमन कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान पर्साका उपअनुसन्धान निर्देशक सन्तोष दाहाल, डीएसपी हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, डा. नीरज सिंह, डा. सुरेन्द्र चौधरीलगायत सरोकारवालाहरूको उपस्थिति थियो।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर