२२ मंसिर, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा निर्णय प्रक्रियामा केही व्यक्ति हावी बन्दा जनतासँगको दूरी बढ्दै गएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै पाण्डेले पार्टी संरचना र नेतृत्व पद्धतिमा सुधार अनिवार्य भएको उल्लेख गरे।

उनका अनुसार एमाले जेष्ठ लोकतान्त्रिक इतिहास बोकेको पार्टी भए पनि पछिल्ला वर्षमा व्यक्तिमुखी ढाँचामा रूपान्तरण हुँदै गएको छ। उनले एउटै व्यक्ति लगातार नेतृत्वमा रहने प्रवृत्तिले पार्टी कमजोर हुँदै गएको दाबी गर्दै अध्यक्ष पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था कानूनी रूपमा गर्नुपर्ने सुझाव दिए।
पाण्डेले महाधिवेशनमा प्रतिस्पर्धा न्यून बन्दै गएको, नेतृत्व माथिबाट तोकिएको सूचीअनुसार छनोट हुने प्रवृत्ति बढेको र यसले आन्तरिक लोकतन्त्र कमजोर पारिरहेको बताए। उनले आठौँ महाधिवेशनले पारित गरेको लोकतान्त्रिक नेतृत्व प्रणालीलाई अवलोकन गर्दै पछिल्ला महाधिवेशनमा ‘सूची पास गर्ने र त्यही सूचीबाट मात्र उम्मेदवार बन्न पाउने’ प्रणाली ल्याउन खोजिएको बताउँदै त्यसले नयाँ पुस्तालाई निरुत्साहित बनाएको टिप्पणी गरे।
त्यस्तै, अर्का उपाध्यक्ष युवराज ज्ञवालीले भने आफूहरू ईश्वर पोखरेलको नेतृत्वमा सामूहिकतामा पार्टी अघि बढाउन प्रतिबद्ध रहेको बताए। महाधिवेशनमा आफ्नो समूह विजयी हुने दाबी गर्दै उनले अन्य दलका नेताहरूसमेत एमालेमा आएर सहकार्य गर्न आह्वान गरे।
पाण्डेले केपी ओलीले धेरै सकारात्मक काम गरे पनि नेतृत्वमा समय-समयमा परिवर्तन आवश्यक हुने उल्लेख गर्दै भने— “सधैं एउटै व्यक्तिले नेतृत्व गर्न मिल्दैन। पार्टीमा नेतृत्व विकासका लागि समय दिनुपर्छ।”उनका अनुसार भविष्यमा कुनै पनि राजनीतिक दलमा नेतृत्व परम्परा तोडेर नयाँ पुस्तालाई अवसर दिने संस्कृति बनाउन आवश्यक छ।


