Lucky-Khabar_

नेपाली कांग्रेसको महामन्त्रीमा को–को भिड्छ

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल महाधिवेशनको तयारीमा जुटिरहेका बेला कांग्रेसभित्र भने पदाधिकारी टुंग्याउने विषयमा अन्योल झन् बढ्दै गएको छ। एमालेले मंसिर २७ गतेदेखि ११औं महाधिवेशन सुरु गर्न तयारी पूरा गरिरहेको छ भने कांग्रेसले पुस २६–२८ मा १५औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

content ad p2

मंसिर १५ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले चुनावी कार्यतालिका पारित गरेसँगै कांग्रेसमा महाधिवेशनको माहोल तातिएको छ। सभापति पदका लागि इच्छुक नेताहरूको सूची लामो बने पनि सभापतिबाहेकका पदमा आकांक्षी नेताहरू भने खुलेर अभिव्यक्ति दिँदैनन्।

संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, देउवा पक्षको ‘सात भाइ’ समूहले अहिले सम्म सभापति उम्मेदवार टुंग्याउन सकेको छैन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि सार्वजनिक रूपमा सभापतिमा उठ्ने–नउठ्ने स्पष्ट पारेका छैनन्। अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका कल्याण गुरुङ भने यसपटक प्यानलसहित उठ्ने घोषणा गरिसकेका छन्।

खड्का र पूर्वपदाधिकारीहरूलाई सभापति शेरबहादुर देउवाको ‘उत्तराधिकारी’का रूपमा हेर्ने धारणा कांग्रेसभित्र बढ्दै गएको छ। तर, उनीहरूबीच एकता कायम हुन्छ कि अलग–अलग टिम बन्छ भन्ने विषयमा स्पष्टता आउन बाँकी छ। यही अनिश्चितताका कारण सभापतिबाहेकका पदका आकांक्षी नेताहरूले आफ्नो योजना सार्वजनिक गर्न हिचकिचाइरहेका छन्।

कांग्रेसका एक नेताले भने, ‘समीकरण अझै बनेको छैन। मुख्य नेतृत्वबीच कुराकानी ठोस रूपमा अघि बढेको छैन। सभापतिमा को–को उठ्ने भन्ने टुंगो नलागेसम्म अन्य पदमा उम्मेदवारी खुलाउन कठिन छ।’

महामन्त्री पदमा पनि यस्तै स्थिति छ। १४औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका अधिकांश नेता यसपटक पनि प्रमुख दाबेदार मानिन्छन्। शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल, देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधि समूहबाट राजाराम कार्कीले गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए।

त्यस क्रममा थापा र शर्मा विजयी बनेका थिए भने महत, पौडेल, रिजाल र कार्की क्रमशः पछिल्ला स्थानमा रहे। तीमध्ये धेरै नेताहरू यसपटक पनि महामन्त्रीका प्राकृतिक दाबेदारका रूपमा हेरिँदै छन्, तर कसैले पनि औपचारिक घोषणा गरिसकेका छैनन्।

यसबीच, केन्द्रीय सदस्य नैनसिंह महर भने पहिले नै महामन्त्रीमा उठ्ने घोषणा गर्दै देशभर प्रचारमा सक्रिय छन्। उनले आफू अघिल्लो टिममै रहेको र विभिन्न जिल्लामा भइरहेको संवादबाट सकारात्मक संकेत पाएको बताएका छन्।

उता, १४औं महाधिवेशनमा निर्वाचित महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनका सहकर्मी महामन्त्री विश्वप्रकाश शर्माले भने आफू कुन पदमा उठ्ने भन्ने खुलाएका छैनन्। देउवा समूहका महत र पौडेलबीच पनि उम्मेदवारीको निर्णय अन्तिम चरणमा पुगेको बताइन्छ।

हालसम्मको राजनीतिक समीकरण हेर्दा कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारी चयन निकै रोचक र प्रतिस्पर्धात्मक हुने विश्लेषण हुँदै आएको छ। तर, शीर्ष नेताहरूबीच औपचारिक सहमति नबनेसम्म उम्मेदवारी घोषणा धैरै ढिलो हुनसक्ने नेतृत्वकै भनाइ छ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर