वीरगञ्ज, ९ पुस । लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसले वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विनय बस्नेतले कपडा बैंकको कार्यालयमै पुगेर दुई बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा विशिष्ट अतिथि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर (VDG) रामबिहारी पाण्डेले अध्यक्ष सिंहको सामाजिक सेवाभावको कदर गर्दै लायन्स ब्याज प्रदान गर्नुभयो ।

कार्यक्रममा सामुदायिक आँखा अस्पतालका सञ्चालक तथा नेत्ररोग विशेषज्ञ डा. महेश सिंह धामी, लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर अमरबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट सचिव सर्जन चापागाईं, कोषाध्यक्ष चन्दबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ बासु तिमिल्सिना र रिकेश साह, डिस्ट्रिक्ट चिफ उमेश साह कानु र उमेश शर्मा, डिस्ट्रिक्ट चिफ श्याम गुप्ता, एरिया चिफ रामेश्वरप्रसाद गुप्ता, रिजन चेयरपर्सन सन्दीप गुप्ता, जोन चेयरपर्सन डा. लक्ष्मी थापा र रितिका जैसवाल, परिवार अध्यक्ष नरोत्तम पाण्डे लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर बस्नेतले लायन्स क्लब, तिलगंगा आँखा अस्पताल र वीरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त पहलमा बारा र पर्सा जिल्लाका विभिन्न ग्रामीण भेगका बासिन्दाहरूको जीवन उज्यालो बनाउने उद्देश्यले सञ्चालन गरिएको आँखा जाँच शिविरमार्फत ५ हजार मोतियाबिन्दु अपरेशन गर्ने लक्ष्य लिइएको र हालसम्म ३ हजारभन्दा बढी अपरेशन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले वीरगञ्ज कपडा बैंकले विगत केही वर्षदेखि कार्यालय स्थापना गरी दिनदुःखी, असहाय, आगलागी तथा बाढीपीडितहरूलाई घरदैलोमै पुगेर गरिरहेको निस्वार्थ सेवाको प्रशंसा गर्दै भविष्यमा पनि लायन्स परिवारको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि प्रथम VDG रामबिहारी पाण्डेले “तपाईं सँग धेरै छ भने हामीलाई दिएर जानुहोस्, तपाईं सँग छैन वा आवश्यकता छ भने निःशुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कोही पनि नाङ्गो नबसून् भन्ने उद्देश्यका साथ निरन्तर सेवा गरिरहेको वीरगञ्ज कपडा बैंकको खुलेर प्रशंसा गर्नुभयो । उहाँले लायन्स क्लबले देश–विदेशमा आपत्–विपत् तथा संकटमा परेका दिनदुःखी असहायहरूको निस्वार्थ सेवा गर्दै आएको उल्लेख गर्दै पर्सा र बारा जिल्लाका ५ हजार दलित तथा विपन्नको आँखाको अपरेशन कार्य जारी रहेको जानकारी दिनुभयो ।
कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विभिन्न समयमा सञ्चालन गर्ने सेवामूलक कार्य तथा हाल पर्सा र बारा जिल्लामा सञ्चालन भइरहेको आँखा शिविरमार्फत हजारौँ असहायको मोतियाबिन्दु अपरेशन गरी मानवता बलियो बनाउने कार्य गरेको बताउँदै कपडा बैंकको अभियानमा ऊर्जा थप्ने गरी सहयोग गरेकोमा लायन्स परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।


