काठमाडौं ।भारतीय अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको कीर्तिमान कायम गरेको छ। यसअघि यो रेकर्ड कुनै मौलिक हिन्दी फिल्मसँग नभई दक्षिण भारतीय फिल्मको हिन्दी संस्करणसँग रहँदै आएको थियो।

सन् २०१७ देखि ‘बाहुबली : द कन्क्लुजन’ को हिन्दी संस्करणले यो उपलब्धि सम्हालेको थियो भने पछि ‘पुष्पा २’ को हिन्दी संस्करणले रेकर्ड तोडेको थियो। यद्यपि, पठान, गदर २, जवान र स्त्री २ जस्ता फिल्मले उल्लेखनीय कमाइ गरे पनि करको दर कम भएका कारण वास्तविक ग्रस कमाइमा ती फिल्मले सर्वकालीन रेकर्ड बनाउन सकेनन्।
बुधबार भने इतिहास नै बदलियो। आदित्य धर निर्देशित ‘धुरन्धर’ ले पाँचौं मंगलबार मात्र ४.२५ करोड रुपैयाँ कमाउँदै नयाँ कीर्तिमान बनायो। यससँगै यो फिल्म भारतीय बक्सअफिसमा सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म बनेको हो।
प्रदर्शनको ३३ औं दिनसम्म ‘धुरन्धर’ ले भारतमा मात्र ७४१ करोड रुपैयाँ नेट (८९३ करोड रुपैयाँ ग्रस) कमाइ गरेको छ। यसअघि ‘पुष्पा २’ ले ७३८ करोड रुपैयाँ नेट (८९२ करोड रुपैयाँ ग्रस) कमाइ गर्दै शीर्ष स्थानमा रहेको थियो, जसलाई ‘धुरन्धर’ ले उछिनेको हो।
फिल्मले छैटौं सातामा ७५० करोड रुपैयाँ नेट कमाइ पार गर्ने अनुमान गरिएको छ भने कुल कमाइ ७७५ करोड रुपैयाँ नेटसम्म पुग्न सक्ने देखिन्छ। तर ८०० करोड रुपैयाँ नेटको आँकडा पार गर्न भने चुनौतीपूर्ण हुने आँकलन गरिएको छ।
कोभिड महामारीपछि हलमा प्रदर्शन भई सबैभन्दा धेरै कमाइ गर्ने फिल्मसमेत बनेको ‘धुरन्धर’ का हालसम्म ३.२५ करोड टिकट बिक्री भइसकेका छन्।


