वीरगञ्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–१ भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार दुई पक्षबीच भएको झडपमा दुई जना शिक्षकसहित पाँच जना घाइते भएका छन्।

झडपपछि आक्रोशित स्थानीय समूहले केही शिक्षकलाई कालो मोसो दल्नुका साथै विद्यालय परिसरभित्र रहेका फर्निचरहरू तोडफोड गरेको जनाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्राप्त जानकारीअनुसार विद्यालयमा आयोजना गरिएको एक सांस्कृतिक कार्यक्रमका क्रममा देखिएका गतिविधिलाई लिएर विवाद उत्पन्न भएको हो। माघ ९ गते शुक्रबार सरस्वती पूजाको अवसरमा पूजा व्यवस्थापन समिति र विद्यालय प्रशासनको सहमतिमा विद्यालय परिसरमै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा सहभागी एक समूहको प्रस्तुति तथा त्यस क्रममा भएका केही गतिविधि आपत्तिजनक रहेको भन्दै स्थानीयले आपत्ति जनाएका थिए। कार्यक्रमका केही दृश्यहरू सामाजिक सञ्जालमा भिडियोमार्फत सार्वजनिक भएपछि स्थानीय बासिन्दा र अन्य विद्यार्थीहरू आक्रोशित बनेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
विद्यालय प्रशासनको लापरबाहीका कारण यस्ता गतिविधि भएको आरोप लगाउँदै स्थानीयले विरोध जनाएका थिए। विरोध क्रमशः उग्र बन्दै गएपछि झडपको अवस्था सिर्जना भएको बताइएको छ।
घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो भने हाल अवस्था सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। घटनाका सम्बन्धमा विद्यालय प्रशासन, स्थानीय तह तथा प्रहरी प्रशासनले थप अनुसन्धान गरिरहेको जनाएको छ।


