वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति तेली समाजले कडा आपत्ति जनाएको छ।

तेली समाजका अगुवा तथा सदस्यहरूले चौरसियाको टिप्पणी आपत्तिजनक, गैरजिम्मेवार र सामाजिक सद्भावमा आँच पुर्याउने खालको रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा सार्वजनिक पदका उम्मेदवारले मर्यादित, संयमित र जिम्मेवार भाषा प्रयोग गर्नुपर्ने हुन्छ, तर उक्त अभिव्यक्तिले सम्पूर्ण समुदायको भावना आहत भएको छ।
तेली समाजका एक प्रतिनिधिले भने, “राजनीतिक आलोचना विषयवस्तुमा केन्द्रित हुनुपर्छ। कुनै पनि व्यक्तिको व्यक्तिगत चरित्र वा समुदायलाई असर गर्ने टिप्पणी स्वीकार्य हुँदैन।”
यस विषयलाई लिएर सामाजिक सञ्जालमा पनि तीव्र प्रतिक्रिया देखिएको छ। विभिन्न प्लेटफर्ममा तेली समाजका युवाहरूले चौरसियाको अभिव्यक्तिको आलोचना गर्दै मतदानमार्फत जवाफ दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रदीप शाह नामक युवाले पर्सा क्षेत्र नम्बर २ मा रहेका तेली समाजसहितका मतदातालाई यस्ता अभिव्यक्ति दिने नेताविरुद्ध मतमार्फत प्रतिक्रिया जनाउन आह्वान गरेका छन्।
त्यस्तै, अर्का युवा मनोज साहले फेसबुकमार्फत गैरजिम्मेवार अभिव्यक्ति दिने नेताहरूलाई बहिष्कार गर्नुपर्ने धारणा राखेका छन्। उनले सार्वजनिक पदको आकाङ्क्षा राख्ने व्यक्तिले समाजमा विभाजन होइन, एकता र सम्मानको सन्देश दिनुपर्ने उल्लेख गरेका छन्।
तेली समाजले चौरसियाको अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेको छ। साथै, भविष्यमा यस्ता टिप्पणी नदोहोर्याउन र सार्वजनिक रूपमा स्पष्टीकरण तथा आत्मालोचना गर्न समाजले माग गरेको छ।
यस विषयमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाको तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको समयमा दिइने सार्वजनिक अभिव्यक्तिले उम्मेदवारको व्यक्तिगत छविसँगै पार्टीप्रतिको मतदाताको विश्वासमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै पक्ष जिम्मेवार र सचेत हुन आवश्यक छ।


