वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा भण्डारण गरिएका करिब ३० लाख रुपैयाँ बराबरका खुद्रा सामान बरामद गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ करिब ८ बजे वीरगंज महानगरपालिका–७ को रेल्वे सडकखण्डमा रहेको एस.बी. ट्रेडिङ्ग नामक गोदाममा छापा मारिएको हो। उक्त गोदाम वीरगंज महानगरपालिका–५ निवासी विकास गोयलले सञ्चालन गर्दै आएको र बिन्दु गोयलको नाममा दर्ता रहेको जनाइएको छ।
छापामारीका क्रममा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा भण्डारण गरिएका स्टेशनरी, किराना तथा अन्य खुद्रा सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानहरूको अनुमानित बजार मूल्य करिब ३० लाख रुपैयाँ रहेको छ।
बरामद सामग्रीमा पेन्सिल, इरेजर, कटर, तास, टेप, बेलुन, लाइटर, रबर, जिविया, गुच्चा लगायतका विभिन्न मालवस्तुहरू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी ती सामानहरू नियन्त्रणमा लिएको हो। बरामद मालवस्तुहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।


