बिरगंज |नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट डा. मनोज कुमार गुप्ता पुनः अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार वीरगञ्जमा सम्पन्न मतदानको मतपरिणाम आइतबार बिहान सार्वजनिक गरिएको हो।

मतपरिणामअनुसार डा. गुप्ताले २५९ मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित अध्यक्ष पद सुरक्षित गरे। उनका निकटतम प्रतिद्वन्द्वी डा. राजदेव कुशवाहाले १५७ मत प्राप्त गरे। यसअघि पनि संघको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका डा. गुप्ताको पुनः निर्वाचित हुनु नेतृत्वमा निरन्तरताको संकेतका रूपमा हेरिएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा भने कुशवाहा प्यानलका डा. पशुपतिनाथ भट्ट विजयी भए। उनले २४९ मत प्राप्त गर्दा गुप्ता प्यानलकी उम्मेदवार डा. तरन्नुम खातुनले १५८ मत मात्र प्राप्त गरिन्।
अन्य पदहरूमा उपाध्यक्षमा डा. रामकिशोर सिंह, सचिवमा डा. विकास साह, सह–सचिवमा डा. अजयकुमार यादव, कोषाध्यक्षमा डा. रामाशंकर गुप्ता तथा सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा डा. सुप्रिता गुप्ता, डा. रामप्रकाश ठाकुर, डा. दीपक चौरसिया, डा. आदित्यप्रकाश यादव, डा. विशाल साह र डा. विनिता सिंह चयन भएका छन्।
प्रमुख निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरका अनुसार कुल ७६६ मतदातामध्ये ४२० मत खसेको थियो। नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत चिकित्सकहरू आबद्ध छन्।
नवनिर्वाचित नेतृत्वले चिकित्सकहरूको हकहित, पेशागत सुरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।


