वीरगञ्ज । नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका नेता बसरुदिन अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने सम्भावनाबारे चर्चा तीव्र बनेको छ । यस चर्चाले पर्सा जिल्लाको राजनीतिक वातावरणलाई तताएको छ ।

रास्वपा निकट स्रोतका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ मा हुने चुनावी गतिविधिलाई सघाउन पार्टीका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो साता वीरगञ्ज आउने कार्यक्रम तय भएको छ । सोही अवसरमा अन्सारीलाई रास्वपामा प्रवेश गराउने तयारी भइरहेको चर्चा चलिरहेको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) त्यागी बारा निर्वाचन क्षेत्र नं. ४ बाट रास्वपाको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका रहबर अन्सारीले बसरुदिन अन्सारीलाई पार्टीमा ल्याउन बालेन शाहसँग पहल गरेको दाबी स्रोतले गरेको छ । सोही क्रममा आगामी स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवारका रूपमा अन्सारीलाई अघि सार्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको बताइन्छ ।
तर, बसरुदिन अन्सारीले भने यस विषयमा कुनै ठोस निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने, “मेयर पदमा चुनाव लड्नेबारे सोचिरहेको छु, तर अहिले नै रास्वपामा प्रवेश गर्ने निर्णय भएको छैन ।”
यता, नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकाको मेयर पदमा वर्तमान मेयर राजेशमान सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । पर्सा क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी प्रवेशका क्रममा सिंहलाई मेयरको टिकट दिलाउने आश्वासन दिएको बताइएको छ । यसैबीच, वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगी पनि एमालेबाटै मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार एमालेभित्र मेयर पदको टिकट सुरक्षित नदेखिएपछि अन्सारीले वैकल्पिक राजनीतिक मार्गका रूपमा रास्वपातर्फ आकर्षित हुन सक्ने सम्भावना देखिएको छ ।


