Lucky-Khabar_

उम्मेदवार बन्न नपाएकी रास्वपा मधेशकी संस्थापक सभापतिको गुनासो: पुरानालाई नयाँ कपडा लगाएर नयाँ हुँदैन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले उम्मेदवार चयन प्रक्रियामा पार्टी नेतृत्वबाट अन्याय भएको आरोप लगाएकी छन्।

content ad p2

समानुपातिकतर्फको उम्मेदवार छनोटमा आफूले तेस्रो स्थानको मत प्राप्त गरे पनि अन्तिम सूचीमा नाम समावेश नगरिएको शर्माको भनाइ छ। काठमाडौंका पूर्व मेयर बालेन शाह पक्षसँगको एकतापछि मधेसी महिलातर्फ आफूलाई सातौँ स्थानमा राखिएको उनले बताइन्।

प्रारम्भिक मतदानको आधारमा नाम नपरेपछि समानुपातिक उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै शर्माले आफू बारा–२ बाट प्रत्यक्ष चुनाव लड्न इच्छुक रहेको पार्टी नेतृत्वलाई जानकारी गराएको बताइन्।

‘समानुपातिक छोडेर प्रत्यक्षमा उठ्छु भनेपछि सबै नेताहरू खुसी हुनुभयो,’ उनले अनलाइनखबरसँग भनिन्, ‘जनकपुरमा बालेन आउँदा मधेसका सबै उम्मेदवारलाई टिकट दिने भनियो। सभापतिले मनिषजीलाई जिम्मेवारी दिएको भन्नुभयो। तर पछि थाहा भयो—अर्कै व्यक्तिलाई टिकट पहिल्यै दिइसकिएको रहेछ।’

रास्वपाले बारा–२ बाट चन्दनकुमार सिंहलाई उम्मेदवार बनाएको छ। सिंह यसअघि जसपा नेपालमा थिए।

बारा–२ नपाए मधेसका अन्य कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न तयार रहे पनि पार्टीले अवसर नदिएको शर्माको गुनासो छ। अन्य दलभन्दा फरक राजनीति गर्ने दाबी गरेको रास्वपाले उम्मेदवार छनोटमै त्यो फरक देखाउन नसकेको उनले आरोप लगाइन्।

‘रास्वपाको उद्देश्यप्रति प्रश्न उठेको छ,’ उनले भनिन्, ‘९० प्रतिशतभन्दा बढी पुरानै व्यक्तिलाई टिकट दिइएको छ। पुरानालाई नयाँ कपडा लगाइदिएर नयाँ हुँदैन।’

हाल महिला विभागकी केन्द्रीय सदस्य रहेकी शर्माले केन्द्रीय राजनीतिमा ल्याउने आश्वासन नेताहरूले पटक–पटक दिए पनि व्यवहारमा कार्यान्वयन नभएको बताइन्। २०७९ सालको निर्वाचनमा आफ्नै पहलमा ३२ मध्ये २५ क्षेत्रमा उम्मेदवार उठाउन सफल भएको दाबी पनि उनले गरिन्।

‘म उमेर नपुगेकाले उम्मेदवार हुन सकिनँ,’ उनले भनिन्, ‘तर सबै क्षेत्रमा पुगेर पार्टीको प्रचार गरें। मधेसमा बाराबाट समानुपातिकमा रास्वपालाई सबैभन्दा बढी मत आयो। मनिष झा र लक्ष्मी तिवारी समानुपातिक सांसद बन्नुभयो।’

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर