सिरहा। सिरहामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक किसानको मृत्यु भएको छ। सिरहा नगरपालिका–१ निवासी ४५ वर्षीय प्रेमनाथ यादवको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयका अनुसार यादव सिरहा नगरपालिका–७ अन्तर्गत मैनाबत्ती खोलाको किनार नजिक आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली चलाएका थिए। गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए।

घटनाबारे जानकारी दिँदै वडा नम्बर ७ का अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको खबर प्राप्त भएको बताए। उनले घटनाबारे थप विवरण संकलन भइरहेको र आफू अस्पतालतर्फ जाँदै गरेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानबाट गोली प्रहार गरी हत्या गरिएको पुष्टि भएको बताए। तर घटनामा संलग्न व्यक्ति र कारण खुल्न नसकेको उनले जानकारी दिए।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई मुचुल्का उठाउने कार्य गरिरहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


