रौतहट |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहट क्षेत्र नं. २ को क्षेत्रीय भेटघाट कार्यक्रम परोहा नगरपालिका–३, तेजापाकडमा सम्पन्न भएको छ।

कार्यवाहक सभापति ललन चौरसियाको अध्यक्षतामा सम्पन्न भेलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकको मुख्य केन्द्रबिन्दु क्षेत्र नं. २ का उम्मेदवार शेख सगिर आलमलाई विजयी गराउने रणनीतिमा केन्द्रित रहेको थियो।
भेलाले निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने, क्षेत्रीय वडा तथा बुथ कमिटी गठन गरी संगठनात्मक रूपमा अघि बढ्ने निर्णय गरेको छ।
कार्यक्रममा रास्वपा रौतहट सभापति प्रदीप शाह, उपसभापति उपेन्द्र यादव, क्षेत्रीय कार्यवाहक सभापति ललन चौरसिया, पर्सा क्षेत्र नं. १ का सभापति राम आर्य तथा मधेश प्रदेश समिति सल्लाहकार दिनेश यादवले आ–आफ्ना विचार व्यक्त गरेका थिए।
भेटघाट कार्यक्रममा ईशनाथ, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाई, देवाही गोनाही र मौलापुर नगरपालिकाका पार्टी पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


