राम आर्य

बिरगंज। वीरगञ्जमा क्रिकेटप्रेमीहरूका लागि उत्साहजनक खबर आएको छ। ‘टिम आदर्शनगर’ को आयोजनामा हुन गइरहेको वीरगञ्ज प्रिमियर लिग (बीपीएल–३) को ट्रफी औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आइतबार गहवामाई मन्दिर अगाडि आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त ले ट्रफी सार्वजनिक गर्दै प्रतियोगिताको सुरुवातलाई औपचारिकता दिएका हुन्।
प्रतियोगिताको संयोजक सुमित कादमियाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी टिमका कप्तानहरू, स्थानीय खेलप्रेमी युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको सक्रिय सहभागिता देखिएको थियो भने कार्यक्रम सञ्चालन सद्दाम हुसेनले गरेका थिए।
यस प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेका क्रिकेट प्रतिभालाई उजागर गर्नु र खेलकुदमार्फत युवाहरूमा सकारात्मक ऊर्जा प्रवाह गर्नु रहेको संयोजक कादमियाले बताए। उनले वीरगञ्जमा क्रिकेट संस्कृतिलाई थप मजबुत बनाउन बीपीएल–३ महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे।
वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणले शहरको खेलकुद गतिविधिमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने यो प्रतियोगिता वीरगञ्जको क्रिकेट विकासका लागि कोशेढुंगा सावित हुन सक्ने विश्वास आयोजकहरूले लिएका छन्।





