राम आर्य

वीरगञ्ज । पर्साको प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा यातायात सेवामा सुधार गर्दै एकीकृत सेवा सुरु गरिएको छ। अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा २४ घण्टाभित्रै प्रदान गर्न थालिएको छ, जसले सेवाग्राहीहरूमा उत्साह थपेको छ। 
यातायात व्यवस्था कार्यालय वीरगञ्जले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘एकीकृत सेवा प्रणाली’ लागू गरेको जनाएको छ। यस प्रणाली अन्तर्गत आवेदन दर्तादेखि बायोमेट्रिक, ट्रायल परीक्षा र लाइसेन्स प्रिन्टसम्मका सबै प्रक्रिया एउटै स्थानबाट छिटो सम्पन्न हुने व्यवस्था मिलाइएको छ।
कार्यालयका अनुसार पहिले लाइसेन्स पाउनका लागि सेवाग्राहीहरूले हप्तौँसम्म कुर्नुपर्ने बाध्यता थियो। तर नयाँ व्यवस्थासँगै आवश्यक कागजात पूरा भएका सेवाग्राहीले २४ घण्टाभित्रै लाइसेन्स प्राप्त गर्न सक्नेछन्।
सेवाग्राहीहरूले नयाँ सेवाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। “पहिले धेरै दिन धाउनुपर्थ्यो, अहिले एकै दिनमा काम सकियो, निकै सजिलो भयो,” एक सेवाग्राहीले बताए।
कार्यालयले सेवा सुधारका लागि डिजिटल प्रणाली, अनलाइन फारम भर्ने व्यवस्था तथा सेवाग्राही सहायता डेस्कसमेत सञ्चालनमा ल्याएको छ। साथै, भीड व्यवस्थापन र पारदर्शिता कायम गर्न निगरानी प्रणाली पनि कडाइका साथ लागू गरिएको जनाइएको छ।
यातायात व्यवस्था कार्यालयले आगामी दिनमा अझै सेवा विस्तार गर्दै अन्य प्रक्रियाहरूलाई पनि पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य लिएको छ।




