वीरगञ्ज ।पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति हरि पन्तले आफ्नै निर्वाचन क्षेत्रमै निजी सचिवालय स्थापना गरेका छन्।

राजधानी केन्द्रित भई जनताबाट टाढा हुने प्रवृत्तिलाई तोड्ने उद्देश्यसहित पन्तले वीरगञ्ज महानगरपालिका–८ मा सचिवालय उद्घाटन गरेका हुन्। बुधबार आयोजित एक कार्यक्रममा क्षेत्रका अगुवा नेताहरूको उपस्थितिमा सचिवालयको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटनका क्रममा सांसद पन्तले आफू क्षेत्र बाहिर रहेका बेला पनि जनताका समस्या सम्बोधन गर्न सचिवालय सक्रिय रहने बताए। उनका अनुसार सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिनेछ। केही दिनभित्रै टोलीलाई पूर्णता दिई सदस्यहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिने जानकारी उनले दिए।

पन्तले सरकारी कार्यालयहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै, अनावश्यक ढिलाइ वा समस्या परे सचिवालयमार्फत जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे।

कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्य, महानगर सभापति अमन आलम लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहे
को थियो। कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।


