वीरगञ्ज| जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रमार्फत हुन सक्ने विदेशी नागरिकको अवैध घुसपैठ नियन्त्रण गर्न विशेष निगरानी अभियान सुरु गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वैशाख १० गतेदेखि लागू हुने गरी सीमानाकाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमाथि कडाइका साथ निगरानी गरिने प्रशासनले जनाएको छ। राष्ट्रिय सुरक्षा तथा शान्ति–सुव्यवस्था सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत सीमानाका हुँदै प्रवेश गर्ने विदेशी नागरिकको पासपोर्ट र भिसा अनिवार्य रूपमा जाँच गरिनेछ। साथै, उनीहरूको सम्पर्क नम्बरलगायत विस्तृत विवरण संकलन गरी व्यवस्थित अभिलेख राखिने व्यवस्था मिलाइएको छ। यो कार्य अध्यागमन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण को संयुक्त टोलीले सीमानाका चेकपोस्टमै गर्नेछन्।
प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा व्यवसायीलाई शंकास्पद विदेशी नागरिक देखिएमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन अपिल गरेको छ। साथै, होटल, लज तथा अन्य आवासीय स्थानमा बसोबास गर्ने विदेशी नागरिकको विवरण सम्बन्धित निकायलाई अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ।
अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा निर्धक्क सूचना दिन तथा सुरक्षा निकायसँग सहकार्य गर्न सबैमा अनुरोध गरिएको छ।
यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल ले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। उनले अवैध गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई प्रभावकारी बनाउन प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारे।



