आमा यो एक शब्द मात्र होइन एउटा संसार हो। नौ महिना कोखमा राखेर आफ्नो रगत–मासु दिएर जन्म दिने अनि आफू भोकै बसेर सन्तानको पेट भर्ने मान्छे। हामी सबैले फेसबुकमा आमाको फोटो राख्छौं आमा बिना संसार शून्य भनेर स्टाटस लेख्छौं आमाको मुख हेर्ने दिन फूल र मिठाई बोकेर जान्छौं।

तर एउटा प्रश्नले मन झस्काउँछ यदि यत्रो मान्छेले आमालाई साँच्चै माया गर्थे भने वृद्धाश्रम र विधवा आश्रममा आमा किन हुन्थे
छोराछोरी सानो हुँदा आमाको काख संसार हुन्छ। तर ती छोराछोरी हुर्किएपछि बिहे गरेपछि विदेश गएपछि आमाको स्थान विस्तारै झमेला बन्न थाल्छ श्रीमान्–श्रीमतीको करियर बच्चाको स्कुल फ्ल्याटको EMI – यी सबैको बीचमा आमा अटाउँदिनन्। आमालाई नै जन्मदिने घरमा ठाउँ छैन भन्ने वाक्य सबैभन्दा ठूलो विडम्बना हो।
हामी मातृदेवो भव भन्ने देशका मान्छे। आमा भनेको देवी मान्ने संस्कृति हाम्रो हो। तर देवीको ठाउँ वृद्धाश्रम हुन्छ कुरा र व्यवहार नमिलेपछि आश्रम भरिन्छन्। आमाले हामीलाई बोल्न सिकाउनुभयो हिँड्न सिकाउनुभयो। बुढेसकालमा उहाँ विस्तारै बच्चा बन्नुहुन्छ दोहोर्याएर सोध्नुहुन्छ कुरा बिर्सनुहुन्छ। त्यही बेला हाम्रो धैर्यता सकिन्छ र हामी भन्छौं टाउको दुखाउनुहुन्छ।
कुनै पनि आमा रहरले आश्रम जाँदिनन्। छोराको इज्जत जोगाउन बुहारीको गालीबाट बच्न वा मेरै कारणले घरमा झगडा नहोस् भनेर चुपचाप झोला बोक्छिन्। आश्रमको ढोकामा छोड्दा छोराले भन्छ केही समयको लागि हो आमा तर फर्केर कहिल्यै लिन आउँदैन। त्यो केही समय नै आमाको बाँकी जिन्दगी बन्छ।
फेसबुकको वालमा होइन आमाको मुहारमा खुसी ल्याऔं। नत्र भोलि हामीले पनि आफ्नै छोराछोरीलाई सोध्नुपर्ने दिन आउँछ यत्रो माया गर्ने सन्तान भएर पनि म आश्रममा किन
आमालाई माया गर्ने हो भने शब्दमा होइन व्यवहारमा देखाऔं। किनकि आमा दोहोर्याएर पाइँदैनन्।


