Lucky-Khabar_

कृषि उत्पादन घट्दा भान्सा महँगिने सङ्केत: खाद्य बजारमा मूल्यवृद्धिको जोखिम

काठमाडौँ, जेठ १२ ।

content ad p2

पछिल्लो समय मुलुकभित्र कृषि उत्पादनमा कमी आएसँगै आगामी दिनमा खाद्य बजारमा तीव्र मूल्यवृद्धि हुने सङ्केत देखिएको छ। समयमा मनसुन सक्रिय नहुनु, रासायनिक मलको अभाव र व्यावसायिक कृषिको लागत बढ्दै जाँदा प्रमुख खाद्यान्न बालीको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो, जसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा पर्ने देखिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल राष्ट्र बैंकको हालैको एक अध्ययन प्रतिवेदनले पनि उत्पादनमा आएको गिरावटका कारण बजारमा उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएको छ। विशेषगरी धान, मकै, गहुँ जस्ता मुख्य खाद्यान्न र मौसमी तथा बेमौसमी तरकारीको उत्पादनमा १० देखि १५ प्रतिशतसम्म गिरावट आउने अनुमान बजार विज्ञहरूको छ।

खुद्रा व्यापार संघका अनुसार आन्तरिक उत्पादन घट्ने वित्तिकै बजार आयातित वस्तुमा निर्भर हुनुपर्ने र अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावका कारण नेपाली बजारमा खाद्यन्नको मूल्य आकाशसिने गर्दछ। “अहिले नै बजारमा चामल, दाल र खानेतेलको मूल्य स्थिर छैन,” एक स्थानीय व्यापारीले भने, “स्वदेशी उत्पादन घटेपछि बजारमा कृत्रिम अभाव र कालोबजारी समेत बढ्न सक्छ, जसले मूल्य वृद्धिलाई थप बल पुर्‍याउँछ।”

कृषि विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसममा आएको फेरबदल, समयमा उन्नत बीउ-बिजन नपाउनु र खेतीयोग्य जमिन प्लटिङ भई बाँझो रहने क्रम बढ्नाले कृषि क्षेत्रको वृद्धिदर सुस्त भएको हो। उत्पादन लागत बढेका कारण किसानहरूले उचित मूल्य नपाउने तर उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने विरोधाभासपूर्ण अवस्था सिर्जना भएको छ।

सरकारले बजारमा हुन सक्ने सम्भावित मूल्यवृद्धि र खाद्य संकटलाई रोक्न समयमै ठोस कदम चाल्न जरुरी देखिएको छ। आपूर्ति व्यवस्थालाई सहज बनाउन, आन्तरिक उत्पादनको भण्डारण क्षमता बढाउन र बजार अनुगमनलाई तीव्र पार्न उपभोक्ता अधिकारकर्मीहरूले माग गरेका छन्। अन्यथा, आगामी चाडबाडको समयसम्ममा आम सर्वसाधारणले महँगीको ठूलो भार खेप्नुपर्ने निश्चित देखिन्छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

लक्की खबर