Lucky-Khabar_

नारायणी रङ्गशाला स्तरोन्नतिका लागि १५ करोड ५० लाख बजेट, फ्लडलाइटदेखि कभर्डहलसम्मका कामले गति लिने

वीरगञ्ज ।  वीरगञ्जस्थित ऐतिहासिक नारायणी रङ्गशाला तथा नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा कुल १५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

content ad p2

युवा तथा खेलकुद मन्त्रालयले नारायणी रङ्गशालाको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ तथा नारायणी बहुउद्देश्यीय कभर्डहल निर्माण तथा विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको छ। त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयले नारायणी फुटबल रङ्गशालामा फ्लडलाइट जडान र मैदान स्तरोन्नतिका लागि थप ३ करोड रुपैयाँ विनियोजन गरेको छ। यससँगै तीन शीर्षकअन्तर्गत कुल १५ करोड ५० लाख रुपैयाँ बजेट सुनिश्चित भएको हो।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सम्बन्धित पक्षले नारायणी रङ्गशाला सरकारको प्राथमिकतामा परेको उल्लेख गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग निरन्तर समन्वयपछि बजेट सुनिश्चित भएको र नीति तथा कार्यक्रम तथा बजेटमाथि उठेका जिज्ञासाको पटक–पटक जवाफ दिँदै अन्ततः आवश्यक स्रोत व्यवस्थापन गरिएको जनाइएको छ।

यसअघि आर्थिक वर्ष २०८२/८३ मा रङ्गशालाका लागि ४ करोड रुपैयाँ र कभर्डहलका लागि ४ करोड रुपैयाँ गरी ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर कार्यान्वयनमा ढिलाइ हुँदा सबै काम सम्पन्न हुन सकेको थिएन। चालु आर्थिक वर्षमा भने रङ्गशालाको ‘ब्लक सी’ प्याराफिट पुनर्निर्माण कार्य सुरु भइसकेको बताइएको छ।

वि.सं. २०३८ सालमा निर्माण प्रक्रिया सुरु भई २०४२ सालमा उद्घाटन गरिएको नारायणी रङ्गशाला करिब ३५ हजार दर्शक क्षमता भएको देशकै दोस्रो ठूलो रङ्गशालाका रूपमा परिचित छ। पर्याप्त मर्मत–सम्भारको अभावमा जीर्ण बन्दै गएको यस रङ्गशालाको पुनःनिर्माण र आधुनिकीकरणका लागि स्थानीयवासी, खेलकर्मी तथा युवाहरूले लामो समयदेखि माग गर्दै आएका थिए।

नयाँ बजेट व्यवस्थापनसँगै रङ्गशालामा फ्लडलाइट जडान, खेल मैदानको स्तरोन्नति तथा कभर्डहल पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरिएको छ। स्थानीय खेलप्रेमीहरूले विनियोजित बजेट पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन्।

बजेट सुनिश्चित भएसँगै नारायणी रङ्गशालालाई मधेस प्रदेशकै प्रमुख खेलकुद केन्द्रका रूपमा पुनः स्थापित गर्ने लक्ष्यले थप बल पाएको विश्वास गरिएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर