काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँ कटौती गरिएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा आएको गिरावटका आधारमा मूल्य समायोजन गरिएको हो। आईओसीबाट पेट्रोलको खरिद मूल्य १५ रुपैयाँ ९ पैसा र डिजेलको २९ रुपैयाँ ४६ पैसा ले घटेर आएको थियो।

यसैगरी, आम उपभोक्ताले प्रयोग गर्ने १४.२ केजी एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ। अब उपभोक्ताले ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँ मा खरिद गर्न सक्नेछन्। यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ थियो।
आन्तरिक हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर ४० रुपैयाँ कटौती गरिएको छ। नयाँ मूल्यअनुसार आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलर घटाएर १,५६६ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ‘ब्रेकइभन पोइन्ट’का आधारमा क्रमशः १,१०० अमेरिकी डलर र १,०८५ अमेरिकी डलर प्रतिकिलोलिटर मूल्य निर्धारण गरिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट तथा आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्थानीय बजारमा मूल्य समायोजन गरिएको जनाएको छ। निगमको यो निर्णयले यातायात, उद्योग, हवाई सेवा तथा घरायसी उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।


