Lucky-Khabar_

विश्वकप फुटबल : स्पेन–अस्ट्रिया र पोर्चुगल–क्रोएशियाबीच आज रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज र भोलि हुने खेलहरूले अन्तिम १६ (प्रि–क्वाटरफाइनल) को समीकरण थप रोमाञ्चक बनाउने भएका छन्। आज राति स्पेन र अस्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ भने भोलि बिहान पोर्चुगल र क्रोएशियाबीच बहुप्रतीक्षित भिडन्त हुनेछ। त्यसपछि स्विट्जरल्यान्ड र अल्जेरियाले पनि अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

content ad p2

आज राति पौने १ बजे अमेरिकाको लस एन्जलसमा हुने खेलमा समूह ‘एच’ को विजेता स्पेन र समूह ‘जे’ को उपविजेता अस्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। सन् २०१० को विश्वकप विजेता स्पेन यस संस्करणमा पनि उपाधिको प्रमुख दाबेदार टोलीका रूपमा मैदानमा उत्रँदै छ। अस्ट्रिया भने बलियो स्पेनलाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यसअघि एकपटक मात्र भेट भएको थियो। सन् १९७८ को विश्वकपमा अस्ट्रियाले स्पेनलाई २–१ गोलले हराएको थियो। अन्तर्राष्ट्रिय फुटबलमा भने दुवै टोलीबीच १६ खेल हुँदा स्पेनले ९ खेल जितेको छ, अस्ट्रियाले ४ खेल आफ्नो पक्षमा पारेको छ भने ३ खेल बराबरीमा टुंगिएका छन्।

त्यसपछि भोलि बिहान पौने ५ बजे क्यानडाको टोरन्टोमा पोर्चुगल र क्रोएशियाबीच बहुप्रतीक्षित खेल हुनेछ। समूह ‘के’ को उपविजेता पोर्चुगल र समूह ‘एल’ को उपविजेता क्रोएशिया पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका हुन्।

यो खेल विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचबीचको सम्भावित अन्तिम विश्वकप भेटका रूपमा पनि विशेष महत्त्वको मानिएको छ। रियल मड्रिडमा लामो समय सँगै खेलेका यी दुई खेलाडी पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध खेल्न लागेका हुन्।

पोर्चुगल र क्रोएशियाबीच हालसम्म १० अन्तर्राष्ट्रिय भेट हुँदा पोर्चुगलले ७ खेल जितेको छ। क्रोएशियाले एक खेल मात्र जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्। तथ्यांक पोर्चुगलको पक्षमा रहे पनि नकआउट चरणमा दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा रहनेछन्।

यस्तै भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरियाबीच अर्को नकआउट खेल हुनेछ। समूह ‘बी’ को विजेता स्विट्जरल्यान्ड र उत्कृष्ट तेस्रो स्थानका आधारमा नकआउटमा पुगेको अल्जेरिया पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध खेल्न लागेका हुन्।

अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीबीच भएका दुईवटै भेट स्विट्जरल्यान्डले जितेको छ। अल्जेरिया पहिलो पटक स्विट्जरल्यान्डविरुद्ध जित निकाल्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ भने स्विट्जरल्यान्ड आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ।

यसअघि क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, अमेरिका, बेल्जियम, ब्राजिल, नर्वे, मेक्सिको र इङ्ग्ल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। बाँकी स्थानको टुंगो आज र भोलिका खेलपछि लाग्नेछ।

नकआउट चरण सुरु भएसँगै प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुने भएकाले विश्वभरका फुटबल समर्थकको ध्यान यी प्रतिस्पर्धामा केन्द्रित भएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर