Lucky-Khabar_

पूर्वसांसद लक्ष्मी कोइरीलाई थमन विक हत्या प्रकरणमा ५ वर्ष कैद

वीरगञ्ज |सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।

content ad p2

कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको सफाइको फैसला उल्टाउँदै कोइरीलाई दोषी ठहर गरेको हो।

यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते प्रमाण नपुगेको भन्दै कोइरीसहित केही अभियुक्तलाई सफाइ दिएको थियो। तर उच्च अदालतले घटनासम्बन्धी प्रमाण, अभियुक्तहरूको संलग्नता र साक्षीहरूको बयानको पुनर्मूल्यांकनपछि फरक निष्कर्ष निकाल्दै सजाय सुनाएको हो।

थमन विकको हत्या मधेश आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामध्ये एक चर्चित घटना हो। आन्दोलनका क्रममा घाइते भएका असई विकलाई एम्बुलेन्समार्फत उपचारका लागि जनकपुर लगिँदै गर्दा महोत्तरीको सनोखडा क्षेत्रमा एम्बुलेन्स रोकिएपछि उनीमाथि आक्रमण भएको थियो। अभियोजनअनुसार आक्रोशित समूहले उनलाई कुटपिट गरी हत्या गरेको थियो।

मुद्दाको सुनुवाइका क्रममा केही प्रत्यक्षदर्शी र अभियुक्तहरूले कोइरीको संलग्नता रहेको बताएका थिए। बचाउ पक्षले भने घटनाको दिन उनी बिरामी भएर घरमै रहेको दाबी गरेको थियो। जिल्ला अदालतले उक्त दाबीलाई आधार मानेर सफाइ दिएको भए पनि उच्च अदालतले उपलब्ध प्रमाणको समग्र मूल्यांकनपछि दोषी ठहर गरेको हो।

उच्च अदालतले यसै प्रकरणमा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय यथावत् राखेको छ।

यस्तै, अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको जन्मकैद सजाय संशोधन गर्दै पाँच–पाँच वर्ष कैद कायम गरिएको छ। जिल्ला अदालतबाट सफाइ पाएका लक्ष्मी कोइरी महतो र पवन कापरलाई पनि उच्च अदालतले दोषी ठहर गर्दै पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ।

कोइरी फरार अवस्थामै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए। जिल्ला अदालतबाट सफाइ पाएपछि उनी सक्रिय राजनीतिमा फर्किएका थिए। उच्च अदालतको पछिल्लो फैसलासँगै उनको कानुनी अवस्थामात्र होइन, राजनीतिक भविष्यमा समेत प्रभाव पर्ने देखिएको छ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर