वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवा माई मन्दिरबाट यही असार ३२ गते भव्य रथयात्रा निकालिने भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस रथयात्रामा ५० हजारदेखि १ लाखसम्म भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

गहवा माई मन्दिर व्यवस्थापन समितिका अनुसार रथयात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। रथयात्रामा वीरगञ्जका विभिन्न स्थानका साथै पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट तथा सीमावर्ती भारतका विभिन्न क्षेत्रबाट समेत श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
रथयात्राका क्रममा गहवा माइको रथलाई परम्परागत विधिअनुसार नगर परिक्रमा गराइनेछ। यात्राभर भजन–कीर्तन, बाजागाजा तथा धार्मिक झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ। श्रद्धालुहरूले गहवा माइको दर्शन तथा रथ तान्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय तह तथा स्वयंसेवकहरू परिचालन गरिने जनाइएको छ। भीड व्यवस्थापन, ट्राफिक सञ्चालन, स्वास्थ्य सहायता र सरसफाइका लागि आवश्यक तयारीसमेत गरिएको आयोजकले जनाएको छ।
गहवा माइको रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक उत्सवमध्ये एक मानिन्छ। प्रत्येक वर्ष हजारौं भक्तजनको सहभागिता रहने यस यात्राले धार्मिक सद्भाव, सामाजिक एकता तथा स्थानीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
आयोजकले सबै भक्तजनलाई शान्तिपूर्ण, अनुशासित र मर्यादित रूपमा रथयात्रामा सहभागी हुन आग्रह गर्दै आवश्यक सुरक्षा मापदण्डको पालना गर्न अनुरोध गरेको छ।


