काठमाडौँ । इरानमाथि अमेरिकाले शृङ्खलाबद्ध हवाई आक्रमण गरेपछि खाडी क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। सम्भावित जवाफी आक्रमणको जोखिमलाई मध्यनजर गर्दै कतारले देशभर उच्च सुरक्षा सतर्कता (रेड अलर्ट) जारी गरेको छ भने बहराइन र कुवेतमा पनि चेतावनीका साइरन बजाइएको छ।

बुधबार राति अमेरिकाले दक्षिण तथा दक्षिण–पूर्वी इरानका विभिन्न रणनीतिक सैन्य अखडा र शहरहरूलाई लक्षित गर्दै व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै खाडी क्षेत्रमा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।

कतारको गृह मन्त्रालयले नागरिक, विदेशी कामदार तथा सबै बासिन्दालाई मोबाइलमार्फत आपतकालीन सन्देश पठाउँदै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ। सम्भावित विस्फोटका असरबाट बच्न झ्याल, ढोका तथा सिसाका संरचनाबाट टाढा रहन पनि अनुरोध गरिएको छ।
इरानसँग भौगोलिक रूपमा नजिक रहेका बहराइन र कुवेतमा पनि मध्यराति चेतावनीका साइरन बजाइएको छ। बहराइनको गृह मन्त्रालयले नागरिकलाई संयम अपनाउन र आवश्यक परे सुरक्षित आश्रयस्थलमा जान आग्रह गरेको छ। कुवेतको सरकारी समाचार संस्था ‘कुना’का अनुसार सम्भावित हवाई वा क्षेप्यास्त्र आक्रमणको पूर्वसतर्कतास्वरूप देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको हो।
यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानको सैन्य क्षमता कमजोर पार्न र विश्वकै प्रमुख इन्धन ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ वरपरको सुरक्षा जोखिम नियन्त्रण गर्न थप सैन्य कारबाही गरिएको जनाएको छ।
पछिल्लो घटनाक्रमले विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने खाडी क्षेत्रको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ। सम्भावित सैन्य टकरावका कारण त्यहाँ रहेका लाखौँ विदेशी कामदार तथा स्थानीय नागरिक त्रासमा रहेका छन्।


