वीरगञ्ज| पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले पेनडाउन आन्दोलन सुरु गर्दै बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प पारेका छन्।

मंगलबार दिउँसो करिब १२:५१ बजे गाउँपालिकाका कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका हुन्।
संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा कर्मचारीहरूले कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको उल्लेख गरेका छन्। यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर पार्नुका साथै प्रशासनिक कामकाज र सुशासनमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ।
कर्मचारीहरूका अनुसार घटनाको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषय भए पनि कम्प्युटर अपरेटर चौरसियाको व्यक्तिगत कुनै संलग्नता नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुःखद र निन्दनीय हो।
घटनामा कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नम्बर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिको संलग्नता रहेको आरोप लगाउँदै उनीहरूमाथि संघीय कानुनअनुसार कडा कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।
माग पूरा नभएसम्म गाउँपालिकाका कर्मचारीहरूले कार्यालयको नियमित कामकाज नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तथा पेनडाउन आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
कर्मचारीहरूको आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा प्रभावित भएको छ भने गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन्।
यसैबीच, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने फरार रहेका अन्य आरोपितको खोजी तीव्र पारिएको छ।




