Lucky-Khabar_

वीरगञ्ज महानगरका कर्मचारीसँग सहमति, आन्दोलन स्थगितपछि सेवा सुचारु

वीरगञ्ज । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगञ्ज महानगरपालिकाका कर्मचारी र महानगर नेतृत्वबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमतिसँगै महानगरपालिकाको सेवा प्रवाह पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

content ad p2

स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित वीरगञ्ज महानगर एकाइका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले बिहीबार बिहानदेखि जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउन माग गर्दै महानगरको दैनिक कामकाज प्रभावित बनाएका थिए।

आन्दोलनपछि कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा हाललाई जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएको बताइएको छ। बाँकी विषय पनि चरणबद्ध रूपमा समाधान गर्ने समझदारी बनेपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरी काममा फर्किएका हुन्।

सहमतिपछि महानगरपालिकाका सबै सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाइएको छ।

वार्तापछि कार्यवाहक नगर प्रमुख आलमले कर्मचारीहरूको जायज माग सम्बोधन गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै संवाद र सहमतिमार्फत समस्या समाधान गर्नु नै उचित उपाय भएको प्रतिक्रिया दिएका छन्।

कर्मचारी पक्षले पनि तत्काल एक महिनाको तलब निकासा गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएको छ।

यसअघि महानगरमा कर्मचारीहरूको केही महिनाको तलब भुक्तानीमा ढिलाइ भएको थियो। महानगर स्रोतका अनुसार पछिल्ला महिनामा रोकिएको अधिकांश बक्यौता तलब भुक्तानी भइसकेको छ भने हाल जेठ र असार महिनाको तलब बाँकी रहेको अवस्थामा कर्मचारीहरूले आन्दोलन गरेका थिए।

बिहीबार भएको सहमतिसँगै महानगरको सेवा अवरुद्ध हुने अवस्था अन्त्य भएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर