वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ थरघटीमा बिहीबार बिहान चट्याङ लाग्दा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठका अनुसार बिहीबार बिहान करिब ७ः१५ बजे राष्ट्रिय वन क्षेत्रसँग जोडिएको स्थानमा चट्याङ पर्दा स्थानीय दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका हुन्। उनीहरू घर नजिकैको जंगल छेउमा पशु चौपाया चराइरहेका बेला अचानक चट्याङको चपेटामा परेका थिए।
प्रहरीका अनुसार घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर छ। उनको पेट र छातीमा गम्भीर चोट लागेको बताइएको छ। तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पताल प्रहरी बिटले जनाएको छ।
घटनापछि स्थानीयवासी तथा घाइतेका आफन्तले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै उपचारका लागि सहयोगको अपिल गरेका छन्। उनीहरूले प्राकृतिक विपद्का घटनामा विपन्न नागरिकलाई तत्काल राहत तथा उपचार खर्च उपलब्ध गराउन स्थानीय सरकारले विशेष व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्।


