वीरगञ्ज । सरकारले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन सम्बन्धित पक्षलाई सात दिनको समयसीमा दिएको हो।
समितिका अनुसार केही व्यक्ति तथा संस्थाले राजगुठीको जग्गा अतिक्रमण गरी सार्वजनिक सम्पत्तिमा अनधिकृत संरचना निर्माण गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले सूचना जारी गरिएको समितिले जनाएको छ।
तोकिएको समयभित्र स्वेच्छाले अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार संरचना हटाइने र आवश्यक कानुनी कारबाही अघि बढाइने समितिले चेतावनी दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतका आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिँदै जनकपुरधाम क्षेत्रका अतिक्रमित गुठी जग्गा, पोखरी तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।


